देउवा र महामन्त्रीद्वय छलफल निष्कर्षविहीन, हस्ताक्षर हस्तान्तरणमा मात्र आंशिक लचकता

User Image Prime TV News एक महिना अगाडि
Image of देउवा र महामन्त्रीद्वय छलफल निष्कर्षविहीन, हस्ताक्षर हस्तान्तरणमा मात्र आंशिक लचकता

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको छलफल कुनै ठोस निष्कर्षबिनै सकिएको छ। सभापति पद छाड्ने, विशेष महाधिवेशन बोलाउनेलगायत विषयमा देउवाले सहमति नजनाएको महामन्त्रीद्वय निकट स्रोतले जनाएको छ।

महामन्त्रीद्वय पक्षधर स्रोतका अनुसार छलफलका क्रममा विशेष महाधिवेशनले गरेका निर्णय, पार्टी नेतृत्वको जिम्मेवारी हस्तान्तरण तथा राजीनामाका विषयमा देउवा छलफल गर्नै तयार भएनन्। “हामीले उठाएका मूल राजनीतिक मुद्दामा उहाँ टसको मस हुनुभएन,” स्रोतले भन्यो, “छलफललाई लम्ब्याउने र अलमल्याउने प्रयास मात्रै देखियो।”

तर देउवा निकट नेताहरूले भने सभापतिले उम्मेदवार चयन प्रक्रियामा लचकता देखाएको दाबी गरेका छन्। देउवा निकट नेता रमेश लेखकका अनुसार महाराजगन्जस्थित देउवाको निवासमा भएको छलफलमा सभापतिले उम्मेदवारको टिकटमा आफ्नो हस्ताक्षर अरूलाई हस्तान्तरण गर्ने विषयमा आफू ‘रिजिड’ नरहेको स्पष्ट पारेका थिए।

“महामन्त्रीद्वयले सभापतिको हस्ताक्षर नचल्ने गरी बटम लाइन बनाउनुभएको थियो,” लेखकले भने, “त्यसमा सभापतिज्यूले म हस्ताक्षर हस्तान्तरण गर्न तयार छु भन्नुभएको हो।” तर उनले राष्ट्रिय सभाका उम्मेदवार तथा प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा देउवाकै हस्ताक्षर भइसकेको र अब त्यसलाई फेर्न मिल्छ कि मिल्दैन भन्ने कानुनी तथा प्रक्रियागत प्रश्न उठेको पनि बताए।

महामन्त्रीद्वय निकट पक्षले भने हस्ताक्षरको विषय गौण भएको र मुख्य मुद्दाबाट ध्यान हटाउने प्रयास भएको टिप्पणी गरेको छ। उनीहरूका अनुसार पार्टीमा देखिएको नेतृत्व संकट समाधान गर्न संरचनात्मक निर्णय आवश्यक भए पनि देउवा त्यसतर्फ गम्भीर नदेखिएका हुन्।