कांग्रेसभित्रको टकराव गहिरिँदै, देउवासँग सहमति नजुटेपछि महामन्त्रीद्वय कानुनी बाटोको खोजीमा

User Image Prime TV News २३ घण्टा अगाडि
Image of कांग्रेसभित्रको टकराव गहिरिँदै, देउवासँग सहमति नजुटेपछि महामन्त्रीद्वय कानुनी बाटोको खोजीमा

काठमाडौ । नेपाली कांग्रेसभित्र नेतृत्व र प्रक्रियालाई लिएर जारी विवाद थप चर्किएको छ।

सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति कायम हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी विकल्पबारे परामर्श सुरु गरेका छन्। उनीहरू पार्टी विधान, निर्वाचन कानुन र विशेष महाधिवेशनको वैधतासम्बन्धी विषयमा कानुनविद् तथा आफू निकटका नेताहरूसँग निरन्तर छलफलमा जुटेका छन्।

पार्टी केन्द्रीय सदस्य प्रकाश स्नेहीले आन्तरिक विवाद समाधानका लागि अझै संवादको ढोका बन्द नभएको बताए। पार्टी एकतालाई प्राथमिकतामा राखेर वार्ता मिल्ने सम्भावना रहेको भन्दै सोही दिशामा महामन्त्रीद्वयले आन्तरिक छलफल अघि बढाइरहेको उनको भनाइ छ।

यसैबीच भृकुटीमण्डपमा सुरु गरिएको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइए पनि पदाधिकारी तहमा हालसम्म कुनै उम्मेदवारी दर्ता नभएको अवस्था छ। यसले विशेष महाधिवेशनको उद्देश्य र परिणामबारे थप अन्योल सिर्जना गरेको छ।

यसअघि बुधबार बिहान महाराजगन्जस्थित निवासमा महामन्त्रीद्वयसँगको भेटमा सभापति देउवाले कानुनी प्रावधानले मिल्ने अवस्थामा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर अधिकार दिन आफू तयार रहेको संकेत गरेका थिए।

उनले राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभाको समानुपातिक बन्द सूचीमा आफ्नै हस्ताक्षर प्रयोग भइसकेको उल्लेख गर्दै प्रत्यक्षतर्फको विषय कानुनी अध्ययनपछि टुंग्याउन सकिने बताएका थिए। देउवाले वैशाखमा तय गरिएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन स्वाभाविक रूपमा हुने दाबी गर्दै त्यसअघि नेतृत्व परिवर्तनको बहस नचाल्न महामन्त्रीद्वयलाई आग्रह गरेका थिए।

विधानअनुसार आफू पुनः सभापतिको उम्मेदवार बन्न नपाउने स्पष्ट पार्दै उनले वैशाख २८ देखि ३१ गतेसम्म हुने महाधिवेशनसम्म धैर्य गर्नुपर्ने धारणा राखेका थिए। देउवाको प्रस्ताव र आग्रहपछि महामन्त्रीद्वयले थप छलफल आवश्यक रहेको जनाउँदै निवासबाट बाहिरिएका थिए।

महामन्त्रीद्वयले आइतबारदेखि नीति र नेतृत्व परिवर्तनको मागसहित भृकुटीमण्डपमा विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका छन्। तर सभापति देउवा समूह र डा. शेखर कोइराला समूहले यसलाई औपचारिक मान्यता दिएका छैनन्।

यसअघि गठन गरिएको वार्ता समितिमा समेत सहमति नजुटेपछि विवाद शीर्ष तहसम्म पुगेको थियो। संस्थापन र शेखर कोइराला समूहबाट बालकृष्ण खाण, रमेश लेखक, डा. मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियार तथा विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरु घिमिरे र देवराज चालिसे वार्तामा सहभागी थिए।