पार्टी एकताका लागि देउवा लचक, टिकटको अन्तिम हस्ताक्षर अधिकार छाड्न पनि तयार
Prime TV News २१ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद समाधान गर्दै एकता कायम राख्न थप लचक देखिएका छन्। पार्टी एकतामा बाधा पुगेमा उम्मेदवारलाई टिकट दिने अन्तिम हस्ताक्षरको अधिकारसमेत अन्य नेताहरूलाई हस्तान्तरण गर्न आफू तयार रहेको सन्देश सभापति देउवाले दिएको कांग्रेसले जनाएको छ।
शुक्रबार पार्टी कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले केही समयअघि सभापति देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको छलफल सकारात्मक रहेको जानकारी दिए। उक्त छलफलमा सभापति देउवाले हालको मुख्य प्राथमिकता पार्टीलाई एकढिक्का राख्नु रहेको र त्यसका लागि आवश्यक परे व्यक्तिगत अधिकारसमेत त्याग गर्न तयार रहेको धारणा राखेको महतले बताए।
‘पार्टी फुट्नु हुँदैन, सबैको भविष्य यसमै जोडिएको छ भन्ने विषयमा सभापति गम्भीर हुनुहुन्छ,’ महतले भने, ‘यदि टिकट वितरणमा प्रयोग हुने हस्ताक्षरकै कारण एकतामा समस्या आउँछ भने केन्द्रीय समितिले निर्णय गरेर त्यो अधिकार अरू कसैलाई दिँदा कानुनी जटिलता नआउने अवस्थामा सभापतिजी हस्ताक्षर अधिकार छाड्न तयार हुनुहुन्छ।’
यसअघि समानुपातिक र राष्ट्रिय सभाको उम्मेदवार सूची सभापतिकै हस्ताक्षरमा निर्वाचन आयोगमा बुझाइए पनि अब प्रत्यक्षतर्फको टिकट वितरणमा असन्तुष्टि देखिए नयाँ व्यवस्था गर्न नेतृत्व तयार रहेको महतले स्पष्ट पारे। ‘कुन नेतालाई हस्ताक्षर अधिकार दिने भन्ने विषय केन्द्रीय समितिले निर्णय गरोस्, म मान्न तयार छु भन्ने सभापतिको धारणा छ,’ उनले भने।
प्रवक्ता महतले सभापति देउवाले अब चुनाव नलड्ने घोषणा गरेको भन्ने चर्चामा सत्यता नभएको पनि स्पष्ट पारे। छलफलका क्रममा सभापतिले आफू संरक्षकको भूमिकामा बस्न सक्ने संकेत गरे पनि चुनावै नलड्ने कुरा नगरेको उनको भनाइ छ।
महामन्त्रीहरूले उठाएका टिकट वितरणमा न्यायोचित मापदण्ड, पारदर्शिता र नीतिगत सुधारका मागहरू संसदीय बोर्ड र केन्द्रीय समितिमार्फत सम्बोधन गर्न सकिने महतले बताए। महामन्त्रीहरूको जायज मागलाई समेट्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा सभापति देउवा दृढ रहेको उनले उल्लेख गरे।












