दमकको भ्यू टावरलाई अस्पताल वा शैक्षिक संस्थामा रूपान्तरण गर्नुपर्ने सुदन गुरुङको प्रस्ताव
Prime TV News २० घण्टा अगाडि 
काठमाडौ । करिब १.४–१.५ अर्ब रुपैयाँ लगानी गरेर बनाइएको दमकको भ्यू टावर अझै खाली अवस्थामा रहेको छ। यसै सन्दर्भमा जेनजी अगुवा सुदन गुरुङले भवनलाई अस्पताल वा शैक्षिक संस्थामा रूपान्तरण गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत भ्यू टावर उद्देश्यविहीन र योजनाविहीन भएकाले जनताका लागि उपयोगी बनाउनुपर्ने बताएका छन्। उनका अनुसार समस्या पैसाको नभई सोच र जबाफदेहिताको हो।
उनले सुझाव दिएका छन् कि टावरमा क्षेत्रीय डायग्नोस्टिक र विशेष सेवा सहितको अस्पताल सञ्चालन गर्न सकिन्छ। यसमा आपत्कालीन उपचार, डायलाइसिस र आमा नवजात शिशुको उपचार सेवा समावेश गर्न सकिने उल्लेख गरेका छन्। गुरुङका अनुसार यसरी टावरलाई दिनदिनै मानिसको जीवन बचाउने थलोको रूपमा विकास गर्न सकिन्छ।
अस्पताल बाहेक, भवनमा नर्सिङ र प्यारामेडिकल विज्ञान कलेज स्थापना गर्ने विकल्प पनि उनले अघि सारेका छन्। गुरुङले भनेका छन्, “फोटो खिच्न मात्र आउने ठाउँले देश नचलाउँछ, तर अस्पताल वा कलेज हरेक दिन काम लाग्ने ठाउँ हो।” उनले अब निर्णय गर्नुपर्ने प्रश्न राखेका छन् – के केवल हेर्ने ठाउँ चाहियो, कि जनताको जीवन र सीप विकास हुने ठाउँ?












