कम्युनिष्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्यः कुलमान
Prime TV News १९ घण्टा अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य भएको बताएका छन्।
पूर्वमन्त्री घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो प्रचारको खण्डन गर्दै भने, ‘विभिन्न सामाजिक सञ्जालमा मेरो नाम र पार्टी उज्यालो नेपालसँग जोडेर अन्य पार्टीहरूसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो।’
उनले थपे, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको छ र भविष्यमा पनि त्यसैगरी अघि बढ्नेछ। यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्न सबैमा अनुरोध गर्दछु।’
घिसिङले केही हप्ता अघि राष्ट्रिय स्वतन्त्र पार्टी सँग पार्टी एकता गरेका थिए तर १२ दिनमै बाहिरिएका थिए। रास्वपा संगको एकता तोडिए संगै उज्यालो नेपाल र नेपाली कम्युनिष्ट पार्टी बिच एकताको चर्चा चलेको थियो ।












