गगन र विश्वप्रकाशलाई कारबाही गरेसंगै काठमाडौँको भृकुटीमण्डपमा तनाव, शेरबहादुर देउवाविरुद्ध नाराबाजी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस आन्तरिक संघर्षको निर्णायक मोडमा पुगेको छ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेसँगै पार्टी औपचारिक विभाजनको अवस्थामा पुगेको हो।
विशेष महाधिवेशनको माग गर्दै नयाँ नेतृत्व चयनको तयारीमा जुटेको समूहविरुद्ध संस्थापन पक्षले कडा कदम चालेपछि कांग्रेसभित्रको टकराव खुला रूपमा सतहमा आएको छ। कारबाहीलाई अस्वीकार गर्दै विशेष महाधिवेशन पक्षधरहरूले विधानअनुसार नेतृत्व चयन प्रक्रिया अघि बढाउने अडान दोहोर्याएका छन्।
केन्द्रीय समितिको निर्णय सार्वजनिक भएलगत्तै काठमाडौँको भृकुटीमण्डपमा तनाव बढेको छ। विशेष महाधिवेशन पक्षधर नेता–कार्यकर्ताहरू भेला भएर सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजीमा उत्रिएका छन्। निर्णयअघि सुनसान जस्तै रहेको भृकुटीमण्डपमा अहिले उल्लेख्य चहलपहल देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार संस्थापन र विशेष महाधिवेशन पक्षबीचको यो टकराव अब पार्टीको आधिकारिकता विवादमा परिणत हुने सम्भावना छ। दुवै पक्षले आफू वैधानिक रहेको दाबी गरिरहेका कारण विवाद निर्वाचन आयोगसम्म पुग्ने देखिन्छ।
निर्वाचन आयोगको निर्णयपछि पनि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने विकल्प खुला रहने भएकाले नेपाली कांग्रेसको यो संकट तत्काल समाधान हुने सम्भावना कम रहेको जानकार बताउँछन्।












