विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुन्छः गगन थापा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सहितका नेताहरूमाथि गरिएको कारबाहीप्रति कडा आपत्ति जनाउँदै शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेको दाबी गरेका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै थापाले केन्द्रीय कार्यसमितिको निर्णयलाई अस्वीकार गर्दै भने, “मैले समाचार सुनेँ—केन्द्रीय कार्यसमितिले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो रे। यो कसैको निजी कम्पनी हो निकाल्नलाई? तपाईंको घरबाट निकाल्नुभएको हो?”
थापाले विशेष महाधिवेशनमार्फत कांग्रेसको निर्वाचन प्रक्रिया अघि बढ्ने र त्यसबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने स्पष्ट पारे। “विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुन्छ,” उनले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने, “सानेपामा बसेर गरिएको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो समिति अस्ति नै भङ्ग भइसकेको छ।”
उनले निर्वाचन आयोग, संविधान र कानुनप्रति आफूहरूको पूर्ण विश्वास रहेको उल्लेख गर्दै कांग्रेस विधानअनुसार आह्वान गरिएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिने विश्वास व्यक्त गरे।
थापाले आफूहरूलाई अलमल्याउने उद्देश्यले सानेपाबाट निर्वाचन आयोगमा पत्र पठाइएको आरोप समेत लगाए। साथै, कुनै पनि कारबाही अघि स्पष्टीकरण सोधिनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै, आफूहरूमाथि गरिएको कारबाही अवैध र असंवैधानिक भएको दाबी गरे ।












