नेतृत्व विवादले चर्किदा नेपाली कांग्रेस तेस्रोपटक विभाजित

User Image Prime TV News १४ घण्टा अगाडि
Image of नेतृत्व विवादले चर्किदा नेपाली कांग्रेस तेस्रोपटक विभाजित

काठमाडौ । झण्डै आठ दशकको राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेस तेस्रोपटक विभाजनको अवस्थामा पुगेको छ।

नेतृत्वको कार्यशैली र पार्टी रूपान्तरणको विषयलाई लिएर उत्पन्न विवाद विशेष महाधिवेशनसम्म आइपुग्दा कांग्रेस फेरि दुई धारमा विभाजित भएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र संरचनात्मक सुधार, पुस्तान्तरण र निर्णय प्रक्रियामा पारदर्शिताको माग अघि सारेका थिए।

तर सभापति शेरबहादुर देउवा उक्त मागप्रति सहमत नहुँदा टकराव चर्किँदै गयो। अन्ततः महाधिवेशन प्रतिनिधिहरूको पहलमा विशेष महाधिवेशन बोलाइयो, जसले नेतृत्व परिवर्तनको निर्णय गर्‍यो। विशेष महाधिवेशनमार्फत भएको नेतृत्व परिवर्तनलाई देउवा पक्षले अस्वीकार गरेको छ।

यससँगै कांग्रेस औपचारिक रूपमा दुई समूहमा विभाजित भएको छ भने अब कुन समूह आधिकारिक नेपाली कांग्रेस भन्ने विषयमा कानुनी तथा राजनीतिक विवाद सुरु भएको छ। विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन भएको यो घटना कांग्रेसको इतिहासमै दुर्लभ मानिएको छ।

यसअघि २०१४ सालमा भएको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शम्शेरले स्वयं महाधिवेशन आह्वान गरी बीपी कोइरालालाई नेतृत्व सुम्पिएका थिए। तर यसपटक भने महाधिवेशन प्रतिनिधिहरूको बलमा नेतृत्व परिवर्तन गरिएको हो।

नेपाली कांग्रेस यसअघि २०१० सालमा पहिलोपटक विभाजित भएको थियो। त्यसबेला बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको राजनीतिक टकराव विभाजनको कारण बनेको थियो। सरकार सञ्चालन, दरबारसँगको सम्बन्ध र वैचारिक मतभेदका कारण मातृकाले छुट्टै दल गठन गरेका थिए।

दोस्रोपटक २०५९ सालमा कांग्रेस विभाजित भयो। प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले पार्टीको असहमतिको बाबजुद संकटकाल थपेपछि विवाद चुलिएको थियो। त्यसकै परिणामस्वरूप देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएको थियो।

यसपटकको विभाजन पनि शेरबहादुर देउवाकै नेतृत्वकालमा भएको छ। पार्टीभित्र परिवर्तनको माग र यथास्थितिवादबीचको संघर्षले कांग्रेसलाई फेरि कमजोर बनाएको छ। विभाजनपछि कांग्रेसको संगठनात्मक संरचना, वैधानिकता र आगामी राजनीतिक भूमिकाबारे अन्योल बढेको छ।

अब निर्वाचन आयोग, अदालत र राजनीतिक मैदानमा कुन समूह आधिकारिक ठहरिन्छ भन्ने प्रश्नसँगै कांग्रेसको भविष्य कुन दिशामा जान्छ भन्ने विषय नेपाली राजनीतिका लागि चासोको केन्द्र बनेको छ।