अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्यो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । अमेरिकाले यहि जनवरी २१ (माघ ७) देखि नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।
अमेरिकी विदेश मन्त्रालयको आन्तरिक ज्ञापनपत्रका आधारमा यो निर्णय लिइएको हो भन्ने फक्स न्युजले जनाएको छ। अमेरिकी सरकारको यो कदम आप्रवासन नीतिमा थप कडाइको स्पष्ट संकेत हो।
अमेरिका प्रवेश गर्ने विदेशीको संख्या घटाउने उद्देश्यसहित आप्रवासी भिसा प्रक्रिया रोकिन लागेको बताइएको छ। विशेषगरी अमेरिका पुगेपछि सरकारी सहायता तथा कल्याणकारी योजनामा निर्भर हुन सक्ने आशंका गरिएका व्यक्तिलाई लक्षित गरी यो निर्णय गरिएको विदेश मन्त्रालयको भनाइ छ।
भिसा प्रक्रिया रोकिने ७५ मुलुकमध्ये एसियाली महादेशका २२ देश परेका छन्। ती देशमा नेपालसहित अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, म्यानमार, कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन छन्।
आप्रवासी भिसा अमेरिकामा स्थायी बसोबास गर्ने उद्देश्यले दिइने दीर्घकालीन भिसा हो। यसमा रोक लाग्नु नेपालका हजारौँ नागरिकका लागि ठूलो धक्का मानिएको छ। पारिवारिक पुनर्मिलन, रोजगारी र स्थायी बसोबासको सपना देखिरहेका नेपालीहरू यो निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।
अमेरिकी विदेश मन्त्रालयले अब कानुनी अधिकार प्रयोग गर्दै अमेरिका प्रवेशपछि सरकारी सहयोगमा निर्भर हुने सम्भावना देखिएमा भिसा अस्वीकार गरिने स्पष्ट गरेको छ।
मानवअधिकार र आप्रवासी अधिकारका पक्षधरहरूले यो निर्णय कठोर र अमानवीय भएको टिप्पणी गरिरहेका छन् भने अमेरिकी सरकार भने यसलाई राष्ट्रिय हित र आर्थिक भार न्यूनीकरणका लागि आवश्यक कदम भएको दाबी गर्दै आएको छ।












