विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन (सुची सहित)
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत रूपमा गगन थापाको नेतृत्वमा १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ।
पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले १३ पदाधिकारीसहित नयाँ केन्द्रीय नेतृत्व घोषणा गरेको हो।
महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्। लामो समयदेखि नेतृत्व विवाद र गुटगत टकरावमा फसेको कांग्रेसले सहमतिका आधारमा नेतृत्व टुंग्याएको हो।
सहमहामन्त्री पदमा विभिन्न समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी आठ जना चयन भएका छन्। सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (आदिवासी–जनजाति), योगेन्द्रसिंह चौधरी (थारु), डिला संग्रौला (महिला), मुक्ताकुमारी यादव (मधेसी) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) रहेका छन्।
कांग्रेस विधानअनुसार कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट मनोनीत हुने व्यवस्था छ। साथै ३४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान पनि विधानमा उल्लेख छ।













