सुनसरीमा ट्रक पल्टिँदा पाँच मजदुरको मृत्यु, तीन घाइते
Prime TV News एक घण्टा अगाडि 
सुनसरी । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–८, सोनियाहीमा ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना आज बिहान करिब साढे ५ बजे हुलाकी राजमार्गअन्तर्गतको सडक खण्डमा भएको हो।
विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सोनियाहीस्थित सडकको घुम्तीमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ट्रक पल्टिँदा पछाडि सामानमाथि बसेका मजदुरहरूलाई टायल र मार्बलले थिच्दा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा हुन्। मृतकहरू ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन्। उनीहरू सबै गुरुङ समुदायका हुन्।
ट्रकमा चालकसहित कुल ९ जना सवार थिए। चालकको क्याबिनमा ४ जना र पछाडि सामानमाथि ५ जना बसेका थिए। क्याबिनमा सवार चार जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।












