चुनावबारे अझै अन्योल, प्रतिनिधिसभा पुनःस्थापना सुरक्षित बाटो : महासचिव पोखरेल

User Image Prime TV News २ घण्टा अगाडि
Image of चुनावबारे अझै अन्योल, प्रतिनिधिसभा पुनःस्थापना सुरक्षित बाटो : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा चुनाव हुने वा नहुने विषय अझै अनिश्चित रहेको बताएका छन्।

दाङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विद्यमान राजनीतिक अन्योल अन्त्य गर्न प्रतिनिधिसभा पुनःस्थापना नै स्पष्ट र सुरक्षित विकल्प भएको बताएका हुन् । महासचिव पोखरेलले राजनीतिक परिस्थिति स्पष्ट भएमा एमाले चुनावमा सहभागी हुने बताए। तर, अस्थिरता कायमै रहे लोकतान्त्रिक प्रक्रिया थप संकटमा पर्न सक्ने उनको भनाइ थियो।

दलहरू विभाजनतर्फ जानुभन्दा एकतामा जानु लोकतन्त्रका लागि फाइदाजनक हुने उल्लेख गर्दै उनले नेपाली कांग्रेसभित्र देखिएको विवादले समग्र लोकतान्त्रिक व्यवस्थामा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिए।

सरकारको कार्यशैलीप्रति आलोचना गर्दै पोखरेलले रवि लामिछानेसँग जोडिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता लिने प्रक्रियाले सरकारको वास्तविक नियन्त्रण कसको हातमा छ भन्ने गम्भीर प्रश्न उठेको दाबी गरे।

समाजमा शान्ति सुरक्षाको अवस्था अझै सन्तोषजनक नभएको उल्लेख गर्दै उनले लुटिएका हतियार संकलन, फरार कैदीलाई नियन्त्रणमा ल्याउने तथा प्रहरी संगठनको मनोबल बढाउने काममा सरकार प्राथमिकताका साथ लाग्नुपर्ने सुझाव दिए।