अमेरिकी दूतावासले नेपाली क्रिएटर्सका लागि ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ घोषणा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अमेरिकी दूतावासले नेपालको रचनात्मक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ आयोजना गर्न लागेको घोषणा गरेको छ।
दूतावासका अनुसार, मेलाले डिजिटल सामग्री सिर्जना गर्ने क्रिएटर्सलाई मनोरञ्जनमा मात्र सीमित नराखी दीगो व्यवसायतर्फ लैजाने लक्ष्य राखेको छ। यस वर्षको मुख्य विषयवस्तु ‘भिजन टु भेन्चर’ हो, जसले अमेरिकी प्रविधि र डिजिटल व्यवसाय विकासको अनुभवमार्फत नेपाली क्रिएटर्सलाई दीर्घकालीन व्यवसायिक मार्गचित्र प्रदान गर्नेछ।
मेलाको कार्यक्रम नेपालका तीन सहर चितवनमा माघ ३, नेपालगन्जमा माघ १०, काठमाडौं माघ १६ र १७ गेत हुने बताईएको छ । दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, “क्रिएटर्स मेला २०२६ भनेको नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता हो। हामी नेपाली क्रिएटर्सलाई स्थानीय मात्र होइन, विश्वव्यापी बजारमा सफलता हासिल गर्न तयार पार्दैछौँ, जसले साझा समृद्धि प्रोत्साहित गर्छ।”
मेलामा सहभागीहरूले सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा, सोनाम तोप्देन लगायत कलाकारहरूबाट सिप सिक्ने अवसर पाउनेछन्। साथै, डिजिटल इन्फ्लुएन्सरहरू टु बी गेमर, लेक्स लिम्बू, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डरले पनि डिजिटल सीप र व्यवसायिक रणनीति सिकाउनेछन्।
काठमाडौँमा हुने समापन कार्यक्रममा मुख्य आकर्षण ‘पिच टु सक्सेस’ हुनेछ। यस अन्तर्गत चयनित क्रिएटर्सले आफ्ना व्यावसायिक योजना नेपालका शीर्ष उद्योगीहरू आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) सामू प्रस्तुत गर्नेछन्। उद्योगीहरूले सहभागीहरूलाई व्यवसायिक मार्गदर्शन दिनेछन्।
सन् २०२३ देखि वर्षेनी आयोजना हुँदै आएको मेलाको यो चौथो संस्करण हो।













