विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा कांग्रेस नफुट्ने : उपसभापति शर्मा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्दा पार्टी नफुट्ने स्पष्ट पारेका छन्।
बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले विधिसम्मत रूपमा विशेष महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरेको बताएका हुन्। उनले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको दाबी गर्दै महाधिवेशनले देशका लागि स्पष्ट दृष्टिकोण पारित गर्नुका साथै नेतृत्व परिवर्तनसमेत गरिसकेको उल्लेख गरे।
सोही विषयमा निर्वाचन आयोगलाई औपचारिक रूपमा जानकारी गराउन आयोग पुगेको शर्माले बताए। “नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन सफल भएको छ। यसले देशका लागि आवश्यक दृष्टिकोण पारित गरेको छ र सँगसँगै नेतृत्व परिवर्तन पनि गरिसकेको छ,” शर्माले भने, “कांग्रेसले आफ्नै विधिअनुसार विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्दा पार्टी फुट्दैन।”
उपसभापति शर्माका अनुसार विशेष महाधिवेशनबाट प्राप्त म्यान्डेट, नेतृत्व परिवर्तन र पार्टीको आगामी दिशाबारे निर्वाचन आयोगलाई अद्यावधिक जानकारी गराइएको छ। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै अघि बढ्ने कांग्रेसको प्रतिबद्धता दोहोर्याए।












