कांग्रेस विवाद चर्किदै, देउवा पक्ष कानुनी परामर्शमा

User Image Prime TV News एक घण्टा अगाडि
Image of कांग्रेस विवाद चर्किदै, देउवा पक्ष कानुनी परामर्शमा

काठमाडौ । नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व विवाद थप जटिल बन्दै गएको छ। भृकुटीमण्डपमा पुस २७ गतेदेखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको समिति सर्वसम्मत चयन भई वैधानिकता दाबी गर्दै निर्वाचन आयोग पुगेपछि सभापति शेरबहादुर देउवा समूह कानुनी तयारीमा जुटेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास हात्तिगौडामा पूर्वमहान्यायाधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डेमोक्रेटिक लयर्स एसोसिएसनका निवर्तमान अध्यक्ष योगेन्द्र अधिकारी तथा वर्तमान महासचिव ज्ञानेन्द्र अधिकारीसहितका कानुन व्यवसायीसँग देउवा पक्षका नेताहरूले परामर्श गरेका छन्।

परामर्शका क्रममा पार्टीभित्र उत्पन्न विवाद समाधानका कानुनी उपाय, केन्द्रीय कार्यसमितिको निर्णय र स्वीकृतिविना आयोजना गरिएको विशेष महाधिवेशन वैधानिक हुन्छ कि हुँदैन, तथा २०७८ सालको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई कायमै राखेर अघि बढ्ने सम्भावनाबारे छलफल भएको जनाइएको छ।

कानुन व्यवसायीहरूले पार्टी विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वानको माग गर्न सक्ने व्यवस्था भए पनि केन्द्रीय कार्यसमितिले स्वीकृति नदिएको अवस्थामा उक्त महाधिवेशनका आधारमा नयाँ नेतृत्व चयन गरी अगाडि बढ्न नमिल्ने राय दिएको स्रोतले जनाएको छ।

निर्वाचन आयोगले अर्को समूहबाट निवेदन परेपछि यथार्थ बुझ्न पत्राचार गर्न सक्ने भएकाले त्यसको जवाफ दिँदै हालको विशेष महाधिवेशन आधिकारिक नभएको जानकारी गराउन सुझाइएको छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो।

सो कारबाहीपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै उक्त निर्णय खारेज गरेको घोषणा गरेको छ। दुवै पक्षबाट आ–आफ्नो दाबीसहित निर्वाचन आयोगमा जाने तयारी भएपछि कांग्रेसभित्रको आन्तरिक विवाद कानुनी र संस्थागत तहमा प्रवेश गरेको विश्लेषण गरिएको छ।