कांग्रेसजस्तै संकट एमालेमा ल्याउने प्रयास असफल भएको ओलीको दावी
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमा देखिएको पछिल्लो आन्तरिक विवाद आफ्नो पार्टीभित्र पनि सिर्जना गर्न खोजिएको दाबी गरेका छन्।
बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रम तथा सरेस नेपालद्वारा लिखित जेलभित्रका संघर्ष पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीका अनुसार पार्टीभित्र भ्रम र अस्थिरता सिर्जना गर्ने प्रयास भए पनि समयमै महाधिवेशन गरेर त्यसलाई चिर्न सफल भएको एमालेको बुझाइ छ।
“एक वर्षअघि नै महाधिवेशन गरेर हामीले हल्ला र भ्रमलाई समाप्त गर्यौँ,” उनले भने, “नत्र आज कांग्रेसमा देखिएजस्तै अवस्था हाम्रो पार्टीमा पनि देखिन सक्थ्यो।” उनले कांग्रेस सभापति शेरबहादुर देउवामाथि गरिएको कथित बलजफ्ती निष्कासन प्रयाससँग तुलना गर्दै एमालेभित्र पनि नेतृत्वमाथि त्यस्तै दबाब सिर्जना गरिएको बताए।
ओलीले पार्टीभित्र विधि, विधान र लोकतान्त्रिक अभ्यासको पालना नगरे संगठन कमजोर हुने चेतावनीसमेत दिए। ओलीले एमाले अहिले एकताबद्ध र संगठित रहेको दाबी गर्दै आन्तरिक एकता कायम राख्न नेतृत्व, कार्यकर्ता र शुभेच्छुक सबै सजग रहनुपर्ने बताए।













