प्रधानमन्त्री सुशीला कार्की र अमेरिकी राजदूत बीच भेटवार्ता
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयहरूमा छलफल गरेका छन्।
प्रधानमन्त्री कार्कीले भेटको क्रममा अमेरिकाको सघन सहयोगको प्रशंसा गर्दै, भविष्यमा पनि त्यस सहयोगको निरन्तरता रहने आशा व्यक्त गरिन्। उनले विशेष गरी नेपालको विकास र समृद्धिमा अमेरिकाको योगदानको मूल्याङ्कन गर्दै, यसले नेपालको प्रगतिको लागि थप महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राखेको बताइन्।
त्यसैगरी, अमेरिकी राजदूत थम्प्सनले प्रधानमन्त्री कार्कीलाई नेपालको नयाँ नेतृत्वमा नियुक्तिको लागि बधाई दिँदै, अमेरिकाको तर्फबाट नेपाललाई अझै प्राथमिकताका साथ सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालका विभिन्न क्षेत्रहरूमा अमेरिकी सहयोगको महत्त्वलाई रेखांकित गर्दै, आगामी दिनमा पनि दुई देशका बीचका सम्बन्धलाई अझ मजबुत बनाउनको लागि काम गर्नेछ भन्ने आश्वासन दिएका छन्।







