गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिले न देश बन्छ, न पार्टी: डा. चन्द्र भण्डारी
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गालीगलौजलाई राजनीति ठान्ने विकृत प्रवृत्तिबाट न मुलुक बन्ने न कुनै राजनीतिक दल बलियो हुने ठोकुवा गरेका छन्।
कांग्रेसलाई एक बनाउन नसकेको आरोपसहित आफूविरुद्ध भइरहेको आलोचनाप्रति प्रतिक्रिया जनाउँदै उनले यस्तो स्पष्ट र कठोर धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा राख्दै भण्डारीले पार्टीभित्र उठिरहेका प्रश्न र आलोचनालाई चासो र चिन्ताको रूपमा स्वीकार गर्ने बताएका छन्।
उनले सबैलाई एउटै दिशामा अघि बढाउने चाहना रहेको उल्लेख गर्दै रूपकात्मक भाषामा भनेका छन्, 'यात्रु बोलाउँदै–बोलाउँदै रेल हिँडिसकेको छ र यही ढंगले अघि बढिरहे दुवै रेल यात्रुविहीन हुने खतरा छ। त्यसपछि मात्र ‘सँगै हिँडौँ’ भन्ने नाराको वास्तविक अर्थ बुझिने उनको भनाइ छ।
भण्डारीले अहिलेको राजनीतिक र सामाजिक अवस्थालाई गम्भीर रूपमा विकृत भएको टिप्पणी गरेका छन्। सत्य र असत्य छुट्याउने विवेक हराउँदै गएको भन्दै उनले नेपाली शिक्षा प्रणाली र सामाजिक नैतिकताको दिशामाथि नै प्रश्न उठाएका छन्।
सत्य नबुझी, जिम्मेवारी नबोकी गालीलाई नै राजनीति ठान्ने प्रवृत्ति रोगजस्तै फैलिएको र त्यसबाट न देश बन्ने न पार्टी टिक्ने उनको कडा भनाइ छ।
‘आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्ने भ्रम कसले रोप्यो ?’ भन्ने प्रश्न उठाउँदै भण्डारीले सत्य, अनुशासन र जिम्मेवारीबिनाको राजनीति घातक हुने चेतावनी दिएका छन्। उनका अनुसार यी मूल्यबिना न पार्टी बलियो हुन्छ, न मुलुक अगाडि बढ्छ, न लोकतन्त्र सुरक्षित रहन्छ।













