२७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

User Image Prime TV News ३ घण्टा अगाडि
Image of २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौ । आज माघ २ गते देशभर २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।

विसं १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। भूकम्प सुरक्षा दिवस मनाउनुको उद्देश्य भूकम्पबाट हुन सक्ने क्षतिबारे नागरिकलाई सचेत गराउनु, जोखिम न्यूनीकरणका उपाय अपनाउन प्रेरित गर्नु तथा आपतकालीन तयारीलाई प्रभावकारी बनाउनु रहेको छ।

यस अवसरमा सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाले सचेतना र अभ्यासमूलक कार्यक्रम सञ्चालन गरेका छन्।

नेपाल उच्च भूकम्पीय जोखिममा रहेको मुलुक हो। विगतका भूकम्पहरूले ठूलो जनधनको क्षति पुर्‍याएका छन्। विसं १९९० को भूकम्पले देशका धेरै भागमा व्यापक क्षति पुर्‍याएको थियो भने विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले झनै ठूलो क्षति निम्त्याएको थियो

उक्त भूकम्पबाट हजारौँ नागरिकको ज्यान गएको थियो भने लाखौँ घर संरचना ध्वस्त भएका थिए। विज्ञहरूले भूकम्पलाई रोक्न नसकिए पनि सुरक्षित निर्माण, भवन संहिता पालना, व्यवस्थित बस्ती विकास र नियमित अभ्यासमार्फत क्षति न्यूनीकरण गर्न सकिने बताउँदै आएका छन्।

तर अझै पनि धेरै स्थानमा असुरक्षित संरचना र लापरवाही कायम रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भूकम्प सुरक्षा दिवसका अवसरमा सरकारले सबै नागरिकलाई भूकम्पपूर्व तयारीमा गम्भीर हुन, सुरक्षित घर निर्माण गर्न र आपतकालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे सचेत रहन आग्रह गरेको छ।