मचाडोले नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिइन्, भेनेजुएलामा राजनीतिक तरंग
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेकी छन्।
बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटका क्रममा मचाडोले उक्त पुरस्कार ट्रम्पलाई सुम्पिएकी हुन्। राष्ट्रपति ट्रम्पले मचाडोको निर्णयको सार्वजनिक रूपमा प्रशंसा गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै मचाडोलाई 'अद्भुत महिला' को संज्ञा दिएका छन्। ट्रम्पका अनुसार मचाडोले आफ्नो कामको सम्मानस्वरूप नोबेल शान्ति पुरस्कार प्रदान गरेकी हुन्। उनले यस कदमलाई 'पारस्परिक सम्मानको बलियो संकेत' भन्दै मचाडोलाई धन्यवादसमेत दिएका छन्।
मचाडो र ट्रम्पबीच प्रत्यक्ष भेटघाट भएको यो पहिलो पटक हो। यो भेट र पुरस्कार हस्तान्तरणलाई लिएर अन्तर्राष्ट्रिय राजनीतिमा चासो बढेको छ।
यसैबीच भेनेजुएलाको राजनीतिक अवस्था झनै संवेदनशील बनेको छ। यहि जनवरी ३ तारिख अमेरिकी सेनाले भेनेजुएलामा सैन्य हमला गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई अमेरिका लगेर हिरासतमा राखेको थियो। उक्त घटनापछि देशको सत्ता संरचनामा ठूलो परिवर्तन आएको छ।
मदुरो हिरासतमा परेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बनेकी छन्। यो घटनाक्रमले भेनेजुएलाको सार्वभौमिकता र अन्तर्राष्ट्रिय हस्तक्षेपबारे गम्भीर बहस जन्माएको छ।
समर्थकहरूले यसलाई तानाशाही अन्त्यको सुरुआत भनेका छन् भने आलोचकहरूले यसलाई नाङ्गो शक्ति प्रयोग र अन्तर्राष्ट्रिय नियमको उल्लङ्घनको रूपमा हेरेका छन्।













