प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, आजदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आजदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने तय भएसँगै आयोगले त्यसअगावै प्रशासनिक तयारी अघि बढाएको हो।
आयोगकी सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएका छन्। सम्बन्धित क्षेत्रहरूमा कार्यालय खोली आवश्यक कर्मचारी खटाइसक्ने प्रक्रिया पूरा भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले यसअघि नै ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकिसकेको छ। प्रत्येक निर्वाचन क्षेत्रमा एक जना मुख्य वा निर्वाचन अधिकृतको जिम्मेवारी रहने व्यवस्था गरिएको छ।
मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीशहरूलाई जिम्मेवारी दिइएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ। आयोगले न्याय परिषद्सँगको परामर्शमा मुख्य र अन्य निर्वाचन अधिकृतहरूको नाम टुंगो लगाएको हो।
निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएपछि उम्मेदवारी मनोनयन, निर्वाचनसम्बन्धी उजुरी, आचारसंहिता कार्यान्वयन तथा व्यवस्थापनसम्बन्धी काम सहज हुने आयोगको भनाइ छ।













