देउवा समूहद्वारा आज पत्रकार सम्मेलन, विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाइने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको देउवा समूहले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा हुने पत्रकार सम्मेलन दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने जनाइएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा देउवा समूहका केन्द्रीय नेताहरूको उपस्थिति रहनेछ। पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको विवादबारे देउवा समूहको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पौडेलले बताए।
गत बुधबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित भएको थियो। तर देउवा समूहले उक्त विशेष महाधिवेशनलाई मान्यता नदिएको जनाएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिइएपछि त्यसको प्रतिवादस्वरूप देउवा समूहले पत्रकार सम्मेलन गर्न लागेको हो। पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको वैधानिकता, पार्टीको आन्तरिक प्रक्रिया र आगामी राजनीतिक रणनीतिबारे धारणा सार्वजनिक गरिने बताइएको छ ।













