कांग्रेसको आन्तरिक विवाद चुलिँदै, देउवा पक्ष निर्वाचन आयोगमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र देखिएको नेतृत्वसम्बन्धी विवाद थप पेचिलो बन्दै निर्वाचन आयोगसम्म पुगेको छ। पार्टीका सभापति शेरबहादुर देउवा पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेका हुन्।
पार्टीको विशेष महाधिवेशनपछि उत्पन्न परिस्थितिबारे निर्वाचन आयोगलाई जानकारी गराउने र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न खड्कासहितको टोली आयोग पुगेको जनाइएको छ। आयोग कार्यालयमा कांग्रेसका नेताहरू विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, एनपी साउद, कल्याण गुरुङ, जीतजंग बस्नेतलगायत उपस्थित रहेका छन्।
नेता श्याम घिमिरेका अनुसार कार्यबाहक सभापति खड्काको नेतृत्वमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूसँग भेटघाटका लागि समय माग गरिएको छ। विशेष महाधिवेशनको प्रक्रिया र पार्टीभित्रको वर्तमान अवस्थाबारे यथार्थ विवरण आयोगलाई बुझाउने उद्देश्यले आफूहरू आयोग पुगेको उनले बताए।
यसअघि विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा बिहीबार निर्वाचन आयोग पुगेका थिए। थापाले आफ्नो नेतृत्वमा बनेको नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए। थापाको निवेदनपछि भोलिपल्टै देउवा पक्षका नेताहरू आयोग पुगेसँगै कांग्रेसको नेतृत्व विवाद कानुनी र संस्थागत तहमा प्रवेश गरेको देखिएको छ।












