लोकप्रिय भाषण होइन, परिणाम देखिने काम नै मेरो प्राथमिकताः बालेन शाह
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले राजनीतिमा शब्द र नाराभन्दा काम र परिणामलाई प्राथमिकता दिएको बताएका छन्।
२७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै उनले दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्वबिना सुरक्षित राष्ट्र निर्माण सम्भव नहुने स्पष्ट पारेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछिको अनुभव उल्लेख गर्दै बालेनले सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गरेको बताएका छन्। काभ्रे जिल्लामा मात्रै करिब २५ सय घर निर्माणमा संलग्न भएको र त्यसपछि गोरखादेखि ३५ भन्दा बढी जिल्लामा संरचनागत काम गर्ने अवसर पाएको उनको भनाइ छ।
नेपालजस्तो भूकम्पीय जोखिमयुक्त मुलुक केवल प्राविधिक इन्जिनियरिङबाट मात्र अघि बढ्न नसक्ने बालेनको धारणा छ। भौगोलिक विविधता, सामाजिक संरचना र नीतिगत स्पष्टतालाई एकसाथ अघि बढाउन सके मात्र दिगो विकास सम्भव हुने उनले बताएका छन्। राष्ट्र विकास भनेको भौतिक संरचना र जनताको जीवनस्तर दुवैको समन्वित उन्नति भएको उनको भनाइ छ।
सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासबीच सन्तुलन, जिम्मेवार नीति र इमानदार नेतृत्व आवश्यक रहेको बालेनले दोहोर्याएका छन्। यहि बुझाइका कारण आफूले भारतमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र सुविधा सम्पन्न देशमा काम गर्ने अवसर हुँदाहुँदै पनि नेपाल फर्किएको उनले उल्लेख गरेका छन्।
काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हालेपछि स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा प्रवाह सम्भव रहेको प्रमाणित गरिएको बालेनको दाबी छ। पारदर्शी प्रणाली, सेवा सुधार र संरचनागत परिवर्तनको सुरुवात महानगरबाट भएको र अब ती अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने उनले बताएका छन् ।













