राजनीतिक स्थायित्वका लागि तोकिएको मितिमा निर्वाचनः प्रचण्ड

User Image Prime TV News २ हप्ता अगाडि
Image of राजनीतिक स्थायित्वका लागि तोकिएको मितिमा निर्वाचनः प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु राष्ट्रको स्थायित्व र लोकतान्त्रिक अभ्यासको सुदृढीकरणका लागि अत्यावश्यक रहेको बताएका छन्।

बिहीबार सार्वजनिक भिडियो सम्बोधनमार्फत बोल्दै उनले देशमा निर्वाचन अवरुद्ध गर्न सक्ने योजनाबद्ध प्रयासहरू भइरहेका उल्लेख गर्दै त्यसप्रति लोकतान्त्रिक शक्तिहरूलाई सतर्क रहन आग्रह गरे। प्रचण्डले अन्तरिम सरकारलाई असफल बनाउने प्रयाससमेत सुरु भइसकेको र मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने खतरा रहेको बताए । 

उनले सम्बोधनमा अतीतका केही कमजोरीहरू स्वीकार्दै पार्टी र नेतृत्व दुवै सुधारको प्रक्रियामा रहेको बताए। जनताको अपेक्षाअनुसार नतिजा दिन नसकिएकोप्रति आत्मालोचना गर्दै उनले जनतासँग विश्वास पुनः प्राप्त गर्न पार्टीले गम्भीरता साथ कदम चालिरहेको उल्लेख गरे। साथै, नेतृत्व हस्तान्तरणका विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको जानकारी दिँदै उनले आगामी नेतृत्व परिवर्तनको संकेतसमेत गरे।

प्रचण्डले आफ्नो सरकारको पालामा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष गरेको दाबी गरे। संविधान र लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता दोहोर्याउँदै उनले त्यसविरुद्ध हुने जुनसुकै प्रयास देशलाई समाधान होइन, संकटतर्फ लैजाने बताए। उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएको उल्लेख गर्दै संविधानको रक्षामार्फत मात्र राष्ट्रिय स्वाधीनताको संरक्षण हुनसक्नेमा जोड दिएका छन् ।