देउवा पक्षाका नेता पुर्णबहादुर खड्काले भने ‘आधिकारिकता दाबी लोकतन्त्र विरुद्धको संकेत’
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको नेतृत्व विवाद निर्वाचन आयोगसम्म पुगेको छ। शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको पक्ष निर्वाचन आयोग पुग्नु लोकतान्त्रिक प्रणालीमाथिको षडयन्त्रको संकेत भएको आरोप लगाएका छन्।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यसहित शुक्रबार निर्वाचन आयोग पुगेका खड्काले आयोगका पदाधिकारीसमक्ष आफ्नो धारणा राख्दै केही व्यक्तिले कांग्रेसको आधिकारिकता दाबी गर्दै आयोग धाउनु गम्भीर विषय भएको बताए। सञ्चार माध्यममार्फत गगन थापा नेतृत्वको पक्ष आयोग पुगेको जानकारी पाएको उल्लेख गर्दै उनले यसले संविधान र लोकतान्त्रिक मूल्यहरूमाथि प्रश्न उठाएको दाबी गरे।
“संविधान, लोकतन्त्र र कांग्रेसले अघि बढाएको परिवर्तनविरुद्ध षडयन्त्रका संकेत देखिन थालेका छन्,” खड्काले भने, “त्यही सन्दर्भमा निर्वाचन आयोगमा आएर पार्टीको दाबी गर्नु गम्भीर र चिन्ताजनक कुरा हो।”
खड्काले नेपाली कांग्रेसको आधिकारिक केन्द्रीय कार्यसमिति १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व नै भएको स्पष्ट पारे। उनले विधान र लोकतान्त्रिक अभ्यासविपरीत गरिएका गतिविधि स्वीकार्य नहुने बताएका छन्।
कार्यवाहक सभापति खड्काको नेतृत्वमा गएको टोलीले कांग्रेसको आधिकारिकता पुष्टि गर्ने कागजातहरू कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएको छ। पार्टीको वर्तमान अवस्था र आफ्नो पक्षको यथार्थ विवरण आयोगलाई औपचारिक रूपमा जानकारी गराइएको खड्काले बताए।
गगन थापा नेतृत्वको पक्षले यसअघि निर्वाचन आयोगमा नयाँ केन्द्रीय नेतृत्वको विवरण अद्यावधिक गर्न निवेदन दिएपछि कांग्रेसको आन्तरिक विवाद संवैधानिक तहमा प्रवेश गरेको छ। यस घटनाक्रमले कांग्रेसभित्रको नेतृत्व संघर्ष अझ स्पष्ट र चर्को बन्दै गएको संकेत देखिएको छ।













