नेपाली कांग्रेसमा नेतृत्व विवाद : गगन थापा पक्षले देउवा पक्षको दाबीप्रति आपत्ति जनाए
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा नेतृत्वको विवाद अझै टुंगो लाग्न सकेको छैन।
शुक्रबार शेरबहादुर देउवा पक्षका नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेपछि, गगन थापा नेतृत्वतर्फका महामन्त्री गुरुराज घिमिरेले आपत्ति जनाएका छन्। विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री घिमिरेले देउवा पक्षीय कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगमा उठाएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत ७ बुँदामा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न भइसकेको छ र केन्द्रीय कार्यसमितिको गठन तथा आवश्यक दस्तावेज आयोगमा पेश भइसकेको छ। महाधिवेशन प्रतिनिधिहरूको केही हस्ताक्षर फिर्ता लिएको विषयलाई राजनीतिक ‘प्रोपागान्डा’ भन्दा बढी मान्न सकिँदैन।”
घिमिरेले अघि लेखेका छन्त, त्कालीन केन्द्रीय कार्यसमितिले महाधिवेशनको मागलाई तीन महिनासम्म छलफलको विषय नबनाउने, नियमित महाधिवेशनको कार्यतालिका नमान्ने र वडा अधिवेशन रोक्ने निर्णय गरेको अवैधानिक कार्य हो। उनले केन्द्रीय समितिको निर्णयले कार्यसमिति आफैंले कार्यतालिकाको उल्लंघन गरेको ठहर गरेका छन्।
उनका अनुसार, विशेष महाधिवेशनमा २,६५२ जना प्रतिनिधि सहभागी भएका थिए, जुन सम्पूर्ण सदस्य ४,६३५ को ५७.२१ प्रतिशत हो। फिर्ता हस्ताक्षर गर्ने प्रतिनिधि मात्र २९ जना थिए । जसले महाधिवेशनको वैधता र नेतृत्व चयनको प्रक्रियामा कुनै असर नगर्ने घिमिरेको दाबी छ। घिमिरेले देउवा पक्षीय कार्यवाहक सभापतिले सङ्गठनको नेतृत्व र विशेष महाधिवेशनबारे हल्ला मात्रै सुनेको टिप्पणी पनि गरेका छन् ।













