उम्मेदवार टुंग्याउन एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक भोलि शनिबार दिउँसो १ बजे बस्ने तय भएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन कार्यक्रम सम्पन्न भइसकेको थियो। यसै सिलसिलामा एमालेले उम्मेदवार टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन्।
एमालेका क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीहरूले पहिले नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ।
हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धनको निर्णय नभएकोले सबै क्षेत्रमा एमालेले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने योजना बनाएको छ। अघिल्लो केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो ।













