विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै विश्वप्रकाश शर्माद्वारा निर्वाचन आयोगलाई जानकारी

User Image Prime TV News एक महिना अगाडि
Image of विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै विश्वप्रकाश शर्माद्वारा निर्वाचन आयोगलाई जानकारी

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुको कारण र प्रक्रिया विधानसम्मत भएको दाबी गर्दै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएका छन्।

गगन थापा नेतृत्वको समूहका तर्फबाट आयोगका पदाधिकारीसँग भएको भेटमा शर्माले पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशनको मागलाई समयमै सम्बोधन नगरेपछि आफूहरूले बाध्य भएर विशेष महाधिवेशन आह्वान गरेको बताएका छन्। उनले मागकर्ताहरूको विषयमा केन्द्रीय नेतृत्वले बेवास्ता गरेपछि विधानअनुसार प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।

शर्माले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही कानुन र पार्टी विधानविपरीत रहेको दाबी पनि आयोगसमक्ष राखेका छन्। विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक नेतृत्व भएको उनको भनाइ छ।

‘कारबाही गर्ने कुरा कानुनसम्मत छैन। विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै प्रक्रिया पूरा गरेका हुन्,’ शर्माले भने, ‘नियमित महाधिवेशनको तालिका सार्वजनिक हुँदैमा विशेष महाधिवेशन स्वतः खारेज हुन्छ भन्ने तर्क सही होइन।’

उनले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशनमार्फत पार्टी अघि बढाउने परम्परा र व्यवस्था रहेको पनि बताए। विशेष महाधिवेशनको माग आएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने विधानको व्यवस्था अनुसार आफूहरूले त्यसलाई कार्यान्वयन गरेको शर्माको भनाइ छ।

१५औँ महाधिवेशनको तालिका कार्यान्वयन नहुने अवस्था देखिएपछि विशेष महाधिवेशन आह्वान गर्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहने व्यवस्था भएकाले सोहीअनुसार काम गरिएको स्पष्ट पारे।