कांग्रेसको आधिकारिकतामा विवाद चर्किदा निर्वाचन आयोग परिसर तनावग्रस्त
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकताका विषयमा विवाद चर्किदै जाँदा निर्वाचन आयोग परिसर तनावग्रस्त बनेको छ।
पार्टीको आधिकारिकता आफूहरूले पाउनुपर्ने मागसहित गगन थापा नेतृत्वको कांग्रेस समूहका नेता तथा कार्यकर्ता बिहीबार बिहानैदेखि आयोग परिसरमा उपस्थित छन्। यसैबीच, केहीबेरअघि शेरबहादुर देउवा नेतृत्वको अर्को समूह पनि आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेपछि अवस्था थप तनावपूर्ण बनेको हो।
दुवै समूहका नेता कार्यकर्ताले आयोग बाहिर आ–आफ्नो पक्षमा नाराबाजी गरिरहेका छन्। दुवै समूह एकैपटक आधिकारिकता दाबी गर्दै आन्दोलनमा उत्रिएपछि सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै निर्वाचन आयोग परिसरमा सुरक्षा सतर्कता कडा पारिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पानीको फोर्स फाल्ने गाडीसहित तयारी अवस्थामा राखिएको छ। स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् भने आयोगले आन्तरिक सुरक्षा व्यवस्था पनि मजबुत बनाएको छ।













