राजनीतिक अन्योल र अस्थिरता अन्त्य गर्नका लागि नयाँ राष्ट्रिय सहमतिः राप्रपा


काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा बढ्दो राजनीतिक अन्योल र अस्थिरता अन्त्य गर्नका लागि नयाँ राष्ट्रिय सहमतिको खाँचो औंल्याएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेनजी जनआन्दोलनलाई गम्भीर रुपमा लिँदै, सुधारको नयाँ ढोका खोल्नुपर्ने धारणा सार्वजनिक गरेको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले जेनजी आन्दोलनलाई भ्रष्टाचार र कुशासनविरुद्धको जनताको स्वतःस्फूर्त आवाज भन्दै त्यसलाई केवल सरकार परिवर्तनमा सीमित गर्नु जनभावनाको अपमान भएको टिप्पणी गरेको छ।
राप्रपाले देशमा व्याप्त भ्रष्टाचारको समाधानका लागि केवल नेतृत्व परिवर्तन होइन, प्रणालीगत परिवर्तन आवश्यक रहेको बताएको छ। बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेशको खारेजी, गैरदलीय स्थानीय सरकारको स्थापना, सांसदलाई मन्त्री बन्न नपाउने प्रावधान, र पूर्ण समानुपातिक संसदको संरचना जस्ता विषयहरूलाई समेट्दै गहिरो राजनीतिक पुनर्संरचनाको खाका प्रस्तुत गरेको छ।
त्यस्तै, राप्रपाले २०४६ यताका शीर्ष नेताहरू, उच्च पदस्थ कर्मचारी र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठाएको छ भने, जेनजी आन्दोलनका क्रममा जनमतको दमनमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि जोड दिएको छ। संस्कृति, धार्मिक स्वतन्त्रता, र राजसंस्थासहितको पहिचानमूलक नेपालको पुनःनिर्माणका लागि सबै पक्षले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन्।