चुनावमा पैसाको खेल रोक्नु पर्छः प्रधानमन्त्री कार्की
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन् ।
नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसंगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चूनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा भन्दै अव इमान्दार नेतृत्व आउनुपर्ने र युवाको भावनाअनुसार शासन चल्नुपर्ने बताइन् ।
भेटका क्रममा घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको थियो ।
साथै घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।













