निर्वाचन आयोगमा कांग्रेस विवाद, खड्कासहित देउवा पक्ष सक्रिय

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन आयोगमा कांग्रेस विवाद, खड्कासहित देउवा पक्ष सक्रिय

काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोग केन्द्रित बन्दै जाँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्का फेरि आयोगको कार्यालय पुगेका छन्। पार्टीभित्रको शक्ति संघर्ष तीव्र बन्दै जाँदा आयोग परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

बिहान कार्यवाहक सभापति खड्कासहित सभापति शेरबहादुर देउवा निकट नेताहरू ठूलो संख्यामा निर्वाचन आयोग पुगेका थिए। उनीहरूले केन्द्रीय समितिबाट विशेष महाधिवेशन गर्ने निर्णय नभएको जनाउँदै आफूहरू नै पार्टीको वैधानिक नेतृत्व भएको दाबी गरेका थिए।

त्यसपछि दिउँसो विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारीहरूको टोली पनि निर्वाचन आयोग पुगेको थियो। टोलीले विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था, पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानहरू प्रस्तुत गर्दै आधिकारिकता दाबी गरेको थियो।

विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू आयोग पुगेपछि खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए। सम्मेलनपछि उनी पुनः निर्वाचन आयोग फर्किएका हुन्। आयोगमा खड्कासँगै कांग्रेस नेता रमेश लेखकलगायत नेताहरू पनि पुगेका छन्।

विवाद बढ्दै जाँदा निर्वाचन आयोगको मूल ढोका बन्द गरिएको छ। परिसर र बाहिर ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। आयोग परिसरभित्र गगन थापा पक्षका नेताहरूले प्रदर्शन गरिरहेका छन् भने बाहिर देउवा र गगन दुवै पक्षका कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन्।

संभावित झडप रोक्न प्रहरीले दुवै पक्षबीच घेराबन्दी गरेको छ। सुरक्षालाई मध्यनजर गर्दै वाटरक्याननसमेत तयारी अवस्थामा राखिएको छ। कांग्रेसको आन्तरिक विवाद निर्वाचन आयोगसम्म पुगेपछि राजनीतिक वातावरण थप तातिएको छ।