ओलीद्वारा कांग्रेस विवाद र संविधान उल्लंघनप्रति आलोचना
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतामाथि आक्रमण रोकिएको छैन भन्दै चिन्ता व्यक्त गरेका छन्।
एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “धम्कीको भरमा निर्देशित भएर चल्नुपर्ने र अपराध ठिक हो भनेर हिँड्नुपर्ने अवस्था आएको छ। न्याय निरूपण गर्ने निकायहरू त्रासमा बाँचिरहेका छन्। यति छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिरहेको छ।”
ओलीले नेपाली कांग्रेसको आन्तरिक विवादप्रति पनि टिप्पणी गर्दै भने, “विशेष महाधिवेशन किन भएन? कसले बोलाउने भन्ने पनि थिति होला, बहुमत अल्पमत कायम गर्ने पनि थिति होला।” उनले कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद र चिन्ताजनक भएको बताए।
अध्यक्ष ओलीले थपे, “यस्तो बेलामा जतिबेला संविधान कुल्चिएको छ, प्रणाली घायल बनाइएको छ, त्यसका लागि लड्नुपर्ने बेला हो। तर कांग्रेस अनावश्यक रूपमा पार्टी फुटाउनतिर लागेको छ।” एमालेका नेता कार्यकर्ताहरूलाई उनले देश र लोकतन्त्रका लागि लड्न प्रेरित गर्दै नेताहरूले जानी बुझी किन यस्तो स्थिति सिर्जना गर्दैछन् भन्नेबारे विचार गर्न आग्रह गरेका छन्।













