कांग्रेस आधिकारिकता थापा पक्षलाई दिएपछि देउवा पक्ष असन्तुष्ट, आयोगमाथि विधि मिचेको आरोप
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएको निर्णयप्रति शेरबहादुर देउवा पक्षले असन्तुष्टि जनाएको छ।
देउवा पक्षका नेता पूर्ण बहादुर खड्काले आयोगले विधि र प्रक्रिया नमानि मनपरी निर्णय गरेको आरोप लगाएका छन्। शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै खड्काले भने, “निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो। अब हामी यस विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्छौं।” साथै उनले आयोगले सेटिङ अनुसार थापा पक्षलाइ मान्यता दिएको आरोप समेत लगाए ।
उनले आयोगको निर्णयप्रति औपचारिक आपत्ति जनाउँदै आगामी कदम कानुनी र राजनीतिक दुवै हुन सक्ने संकेत दिएका छन्। निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले आवश्यक कागजात अध्ययनपछि गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई नेपाली कांग्रेसको आधिकारिक निकायका रूपमा मान्यता दिएको हो।
आयोगका अनुसार विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व वैधानिक ठहरिएको छ। पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए।
त्यसपछि बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आयोगमा आधिकारिकताको दाबी गर्दै कागजात बुझाएको थियो।
उता, देउवा पक्षले पनि आफूहरू नै आधिकारिक कांग्रेस भएको जिकिर गर्दै छुट्टै कागजात आयोगमा पेस गरेको थियो। तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ।













