पार्टीलाई एकताबद्ध राख्न विशेष महाधिवेशनको विपक्षमा उभिएका नेता कार्यकर्ताको भूमिका निर्णायक: उपसभापति शर्मा
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई एकताबद्ध राख्न विशेष महाधिवेशनको विपक्षमा उभिएका नेता कार्यकर्ताको निर्णायक भूमिका आवश्यक रहेको बताएका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि शर्माले फेसबुकमार्फत यस्तो आह्वान गरेका हुन्।
शर्माले विशेष महाधिवेशनको विरोधमा रहेका जिल्ला तथा प्रदेश सभापतिहरूलाई केन्द्रका नेताहरूमाथि दबाब बढाउन आग्रह गरेका छन्।
उनले पार्टी एकताका लागि अब तल्लो तहका नेतृत्वले चुप लागेर बस्न नहुने स्पष्ट सन्देश दिएका छन्। “केही साथीहरूले हस्तक्षेप गरिसक्नुभएको छ, अब बाँकीले पनि लाग्नुपर्छ,” उनको भनाइ छ।
शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै कांग्रेसभित्रको विवाद सतहमा आएको हो। आयोगको निर्णयलाई सभापति शेरबहादुर देउवाले ‘षड्यन्त्रपूर्ण’ भन्दै अस्वीकार गरेका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगविरुद्ध कानुनी लडाइँमा जाने घोषणा गरेका छन्। एकातिर वैधानिकता पाएको दाबी गर्दै नयाँ नेतृत्व अघि बढ्न खोजिरहेको छ भने अर्कोतिर पुरानो नेतृत्वले त्यसलाई अस्वीकार गर्दै अदालतको ढोका ढकढक्याउने तयारी गरिरहेको छ ।













