निर्वाचन आयोगको निर्णयपछि कांग्रेस केन्द्रीय समिति बैठक आज
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । निर्वाचन आयोगबाट नेपाली कांग्रेसको आधिकारिक मान्यता पाएपछि सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेका छन्।
आयोगको निर्णयसँगै पार्टी नेतृत्व पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएपछि थापाले संगठनलाई अगाडि बढाउने औपचारिक प्रक्रिया सुरु गरेका हुन्।
केन्द्रीय समिति बैठक आज बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने तय भएको छ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, कांग्रेसको भूमिकाबारे समीक्षा तथा आगामी निर्वाचन रणनीतिमा केन्द्रित छलफल हुने बताइएको छ।
पुस २७ देखि ३० गते काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए। महाधिवेशनपछि थापा पक्षले केन्द्रीय समिति बैठकको निर्णयसहित निर्वाचन आयोगमा कागजात बुझाउँदै पार्टीको आधिकारिकताको दाबी गरेको थियो।
यसको विपक्षमा शेरबहादुर देउवा पक्षले पनि आफूहरू नै वैधानिक नेतृत्व भएको जिकिर गर्दै आयोगमा छुट्टै कागजात पेस गरेको थियो। तर निर्वाचन आयोगले थापा नेतृत्वलाई मान्यता दिएसँगै देउवा पक्ष नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डाबाट वञ्चित भएको छ।













