उम्मेदवार छनोटको अन्तिम चरणमा एमाले, सचिवालय बैठक आज
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। यसैक्रममा पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ। त्यसअघि नै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने तयारीमा एमाले लागेको हो।
पार्टीका प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको छ। बैठकमा निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला तथा प्रदेश कमिटीबाट सिफारिस भएर आएका नामहरूमा अन्तिम निर्णय गरिनेछ।
हालसम्म प्राप्त सिफारिसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा अघि बढेको बताइएको छ। बाँकी निर्वाचन क्षेत्रका उम्मेदवारहरूबारे आजको बैठक निर्णायक हुने देखिन्छ।
एमालेले अहिलेसम्म कुनै पनि राजनीतिक दलसँग औपचारिक चुनावी गठबन्धन गर्ने निर्णय नगरेकाले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’बाट उम्मेदवार उठाउने तयारी गरेको छ।
दुर्गम र भौगोलिक रूपमा कठिन क्षेत्रका उम्मेदवारहरूलाई समयमै मनोनयन प्रक्रियामा सहभागी गराउनुपर्ने भएकाले पनि सचिवालयले ढिलाइ नगरी नाम टुंग्याउन लागेको शाहीले जानकारी दिए। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको सम्पूर्ण जिम्मेवारी सचिवालयलाई सुम्पिएको थियो।













