निर्वाचन आयोगको निर्णयपछि कांग्रेस नेता तीन फरक धारमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको भोलिपल्टै पार्टीभित्र गहिरो विभाजन खुलेर देखिएको छ।
शनिबार बिहान कांग्रेसका शीर्ष नेताहरू तीन फरक धारमा उभिएका छन् । आधिकारिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसले आज बिहान नयाँ बानेश्वरमा केन्द्रीय कार्यसमिति बैठक राख्दै छ।
तर आयोगको निर्णय अस्वीकार गर्दै शेरबहादुर देउवा पक्ष भने छुट्टै बाटोमा हिँडेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा देउवा पक्षीय नेताहरू ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका छन्। देउवा पक्षले आयोगको निर्णयविरुद्ध अदालत जाने र सडक आन्दोलन गर्ने तयारी थालेको छ।
यसैबीच, देउवा पक्षसँग नजिक रहँदै आएको शेखर कोइराला समूह पनि अलग्गै छलफलमा जुटेको छ। शेखर पक्षका नेता बलबहादुर केसीले आन्तरिक छलफल भइरहेको पुष्टि गरे पनि बैठक कहाँ भइरहेको छ भन्नेबारे जानकारी दिएका छैनन्। यो समूहको दोधारपूर्ण भूमिकाले कांग्रेसभित्रको अन्योल अझै बढाएको छ।













