निर्वाचन आयोगको निर्णय देउवा पक्षद्वारा अस्वीकार, सर्वोच्च अदालत जाने घोषणा

User Image Prime TV News ६ घण्टा अगाडि
Image of निर्वाचन आयोगको निर्णय देउवा पक्षद्वारा अस्वीकार, सर्वोच्च अदालत जाने घोषणा

काठमाडौ । नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगले गरेको निर्णयलाई औपचारिक रूपमा अस्वीकार गरेको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले आयोगले माघ २ गते दिएको निर्णय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत रहेको ठहर गरेको हो।

बैठकपछि निर्णय सार्वजनिक गर्दै नेता डा. प्रकाशशरण महतले निर्वाचन आयोगको कदमलाई दुराशयपूर्ण र दूषित मनसायबाट प्रेरित भएको आरोप लगाए।

उनका अनुसार आयोगको निर्णयले विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक रूपमा विस्थापित गर्ने प्रयास गरिएको बताए ।

महतले आयोगको निर्णयविरुद्ध संवैधानिक र कानुनी बाटो अपनाउने निर्णय भइसकेको स्पष्ट पारे। उनले भोलि नै सर्वोच्च अदालतमा रिट दायर गरिने जानकारी दिँदै न्यायालयबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता, उपस्थित संख्या र प्रक्रिया जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप पनि लगाए। देउवा पक्षलाई बोलाएर सुनुवाइ गर्ने न्यूनतम प्रक्रिया समेत पूरा नगरी निर्णय गरिएको उनको दाबी छ।

सञ्चारकर्मीहरूको प्रश्नमा महतले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको दोहोर्‍याए। सानेपा पार्टी कार्यालय नछोड्ने स्पष्ट सन्देश दिँदै उनले भने, अहिले पनि शेरबहादुर देउवाको सभापतित्वमा पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेको संरचनालाई नै पार्टीको वैधानिक नेतृत्व मानिनेछ।