कांग्रेसको केन्द्रीय समिति बैठकबाट एकताको सन्देश, पार्टी चुनावी केन्द्रीत बन्ने

User Image Prime TV News ५ घण्टा अगाडि
Image of कांग्रेसको केन्द्रीय समिति बैठकबाट एकताको सन्देश, पार्टी चुनावी केन्द्रीत बन्ने

काठमाडौ । नेपाली कांग्रेसले पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकता र सद्भावका साथ अघि बढ्ने औपचारिक निर्णय गरेको छ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संगठनलाई मजबुत बनाउँदै आगामी निर्वाचनका चुनौती सामना गर्न सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेले बैठकका निर्णय सार्वजनिक गर्दै आपसी सहकार्य र अनुशासनबिनै कांग्रेसले लक्ष्य हासिल गर्न नसक्ने स्पष्ट सन्देश दिइएको बताए।

उनका अनुसार बैठकले पार्टीलाई आन्तरिक विवादबाट बाहिर निकालेर सक्रिय राजनीतिक अभियानतर्फ मोड्ने निर्णय गरेको छ। बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई दिएको दीर्घकालीन योगदानको औपचारिक मूल्याङ्कन गर्दै आभार व्यक्त गरेको छ।

साथै आगामी दिनमा पनि देउवासहित वरिष्ठ नेताहरूको मार्गदर्शन र अभिभावकत्व पार्टीका लागि आवश्यक रहने निष्कर्ष निकालिएको छ। अब पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरिने निर्णय पनि बैठकले गरेको छ।

प्रवक्ता चालिसेले टिकट वितरण प्रक्रिया पार्टीको विधान र संविधानअनुसार संसदीय बोर्डमार्फत अघि बढाइने स्पष्ट पारे। उनले कांग्रेसले वैधानिक प्रक्रिया पूरा गरेर आधिकारिकता प्राप्त गरिसकेकाले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गर्नुको कुनै औचित्य नरहेको टिप्पणी गरे।