भीम आचार्य प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने

User Image Prime TV News ६ घण्टा अगाडि
Image of भीम आचार्य प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने

काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्यले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू उम्मेदवार नबन्ने निर्णय पार्टी नेतृत्वलाई औपचारिक रूपमा जानकारी गराएका छन्।

प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन एमालेले सचिवालय बैठक बोलाउने तयारी गरिरहेका बेला आचार्यले आफ्नो अडान दोहोर्‍याएका हुन्।

२०७९ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित आचार्यले यसपटक चुनावी प्रतिस्पर्धाबाट टाढा रहने निर्णय गरेको बताएका छन्। उनका अनुसार अध्यक्ष केपी शर्मा ओली र प्रदेश इञ्चार्ज शेरधन राईसहितका नेताहरूले पुनः सोही क्षेत्रबाट उम्मेदवार बन्न प्रस्ताव गरे पनि उनले स्वीकार नगरेका छन्।

आचार्यले आर्थिक अवस्था र पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकतालाई आफ्नो निर्णयको मुख्य कारण बताएका छन्। एउटै अनुहार पटक पटक उम्मेदवार बन्नु गलत सन्देश जाने भन्दै उनले नेतृत्वसँग आफ्नो नाम प्रस्ताव नै नगर्न आग्रह गरेका छन्।

उनले आफ्नो क्षेत्रका लागि कुनै पनि व्यक्तिको नाम सिफारिस नगरेको पनि स्पष्ट पारेका छन्। उम्मेदवार छनोट पार्टीको प्रक्रिया अनुसार हुनुपर्ने र आफूले त्यसमा हस्तक्षेप नगर्ने उनको भनाइ छ।

एमालेको ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवार बनेका आचार्य दुबै पदमा पराजित भएका थिए। सो महाधिवेशनको समय आसपास अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा उनीसहितका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आचार्य २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–६ बाट निर्वाचित भएका थिए। त्यस कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका उनले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाएका थिए।

यद्यपि, उनीमाथि दायर मुद्दाका कारण उम्मेदवार बन्न कानुनी अवरोध भने छैन। कानुनअनुसार फौजदारी मुद्दामा दोषी ठहर भएमा मात्र उम्मेदवारी दर्ता नहुने व्यवस्था छ।