टिकट लफडा चर्किदैः केन्द्रको निर्णयविरुद्ध महेश्वर दाहाल खुला विद्रोहको बाटोमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी भित्र उम्मेदवार चयनलाई लिएर आन्तरिक विवाद चुलिँदै गएको छ। सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ मा केन्द्रले जिल्ला सिफारिस विपरीत उम्मेदवार अघि सारे विद्रोह गर्ने चेतावनी प्रभावशाली नेता महेश्वर दाहालले दिएका छन्।
दाहालले पार्टीको विधि, प्रक्रिया र स्थानीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै केन्द्रबाट उम्मेदवार थोपरिने अभ्यास अस्वीकार्य भएको स्पष्ट पारेका छन्। उनका अनुसार पार्टीभित्र लोकतान्त्रिक अभ्यासको गम्भीर उल्लंघन भइरहेको छ।
यदि केन्द्रले जबर्जस्ती निर्णय गरे आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य हुने संकेत दाहालले सार्वजनिक रूपमा दिएका छन्। “पार्टी कमिटी र कार्यदलले सर्वसम्मत सिफारिस गरिसकेको अवस्थामा माथिबाट आदेश थोपर्नु भनेको कार्यकर्ताको अपमान हो,” उनले बताएका छन्।
दाहाल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर यहि विषयमा कडा कुरा राख्ने तयारीमा छन्। पार्टी नेतृत्वले समयमै सच्याउने कदम नचाले अवस्था नियन्त्रण बाहिर जान सक्ने संकेत पनि उनले दिएका छन्।
शनिबार फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा दाहालले लेखेका छन्-“हामीलाई फेरि घुँडा टेक्न बाध्य पारिँदैछ। तर इतिहास झुकेकाहरूले होइन, उभिएकाहरूले लेख्छन्।”
नेकपाले सिन्धुली–२ बाट प्रत्यक्षतर्फ अध्यक्ष प्रचण्ड, उपमहासचिव हरिबोल गजुरेल र महेश्वर दाहालको नाम सिफारिस गरेको भए पनि अन्तिम निर्णयलाई लिएर अन्योल र असन्तोष बढ्दो छ।












