उम्मेदवार छनोटमा एमालेभित्र असन्तुष्टि, योगेश भट्टराई भने निर्णय सुनेर विचलित नहुनू
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीले गरेको उम्मेदवार छनोटको निर्णयबाट विचलित नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
शनिबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको थियो। तर केही जिल्ला र निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि पार्टीभित्र असन्तुष्टि सतहमा आएको छ।
यसअघिका निर्वाचनमा निरन्तर जित्दै आएको ताप्लेजुङमा समेत उम्मेदवार टुंगो नलाग्नुले योगेश भट्टराई स्वयं प्रभावित भएका छन्। उनी सचिवालय बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीले इतर समूहलाई बेवास्ता गर्दै उम्मेदवार टुंग्याएको आरोपपछि भट्टराईले सार्वजनिक रूपमा संयम अपनाउन आग्रह गरेका हुन्।
भट्टराईले फेसबुकमा लेखेका छन्, “निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ एमालेका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो स्थानबाट सक्रिय रहनुपर्छ।”
पार्टीभित्र देखिएको असन्तुष्टि र शक्ति केन्द्रीकरणको आलोचनाबीच आएको यो अपिललाई एमाले नेतृत्वको आन्तरिक संकट छोप्ने प्रयासका रूपमा लिइएको छ।












