प्रतिनिधिसभा चुनाव नजिकिँदै, दलहरू उम्मेदवार टुंग्याउने दौडमा

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा चुनाव नजिकिँदै, दलहरू उम्मेदवार टुंग्याउने दौडमा

काठमाडौ । फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा तीव्र रूपमा जुटेका छन्।

६ माघमा उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने समयसीमा रहेकाले कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाललगायत दलहरूले १६५ निर्वाचन क्षेत्रमा अन्तिम सूची तयार गर्न दबाबमा काम गरिरहेका छन्।

यसपटक जेनजी आन्दोलनको प्रभाव देखाउँदै दलहरूले युवालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस भइसकेका छन् भने केन्द्रीय तहमा अन्तिम निर्णय गर्ने प्रक्रिया चलिरहेको छ। हालसम्म प्रमुख दलहरूबीच औपचारिक चुनावी गठबन्धनको सहमति भने बनेको छैन।

कांग्रेसमा संसदीय बोर्डमार्फत उम्मेदवार छनोट
कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन गरी प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले दुई दिनभित्र सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइने दाबी गरेका छन्।

थापा काठमाडौं–४ बाट उम्मेदवार बन्न इच्छुक देखिएका छन् भने शेरबहादुर देउवालाई विश्राम लिन सुझाव दिएका छन्।

एमालेमा अधिकांश उम्मेदवार तय, बाँकी ओलीको निर्णयमा

एमाले सचिवालय बैठकले प्रत्यक्षतर्फ १४० उम्मेदवारको टुंगो लगाएको छ। बाँकी निर्वाचन क्षेत्रको उम्मेदवार अध्यक्ष केपी शर्मा ओलीले तय गर्ने भएका छन्।

यसअघिका विजेता केही नेताको नाम सूचीमा नपरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। ओली झापा–५ बाट उम्मेदवार हुने निश्चित छ।

नेकपाले युवा उम्मेदवारको दाबी
नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ। कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने दाबी गरिएको छ। संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार हुने पक्का भएको छ।

रास्वपा र अन्य दल पनि तयारीमा

रास्वपाले उम्मेदवार छनोट अन्तिम चरणमा पुर्‍याएको छ। सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार हुनेछन्। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। राप्रपा, जसपा नेपाल, जनमत पार्टी र उज्यालो नेपाल पार्टीले पनि आ–आफ्नो क्षेत्रबाट उम्मेदवार उठाउने तयारी तीव्र बनाएका छन्।

मनोनयन मिति नजिकिँदै जाँदा उम्मेदवार छनोटमा शक्ति केन्द्रीकरण, असन्तुष्टि र युवाको नाममा पुरानै अनुहार दोहोरिने संकेत देखिन थालेको छ। चुनावी प्रतिस्पर्धा मात्र होइन, दलहरूको आन्तरिक अवस्था पनि यो निर्वाचनको प्रमुख विषय बन्ने देखिएको छ।