महिला टी–२० विश्वकप ग्लोबल छनोट काठमाडौंमा सुरु, नेपाल र थाइल्यान्ड बिच खेल जारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा थाइल्यान्डले जितेर बलिङ रोजेपछि नेपाली महिला राष्ट्रिय टोली ब्याटिङमा उत्रिएको हो।
यो प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हो।
ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। उक्त समूहमा नेपालसँगै थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन्। समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन्।
समूह चरणका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट उत्कृष्ट चार टोलीले महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।
घरेलु मैदान र दर्शकको समर्थन नेपालका लागि अवसर हो। तर दबाब पनि त्यतिकै छ।













