प्रतिनिधिसभा चुनाव लड्न नारायणकाजी श्रेष्ठले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
उनले आइतबार राष्ट्रियसभा सचिवालयमा औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि श्रेष्ठले राष्ट्रियसभा सदस्य पद छाडेका हुन् । नेकपाले उनलाई सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ । नेकपाको शीर्ष नेतामध्ये पाँचौँ वरीयतामा रहेका श्रेष्ठ हाल राष्ट्रियसभा सदस्य थिए । श्रेष्ठसहित राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ ।
श्रेष्ठको राजीनामासँगै सर्लाही–३ मा आगामी चुनावी प्रतिस्पर्धा थप चासोपूर्ण हुने देखिएको छ । नेकपाले उक्त क्षेत्रलाई रणनीतिक रूपमा महत्वपूर्ण मान्दै अनुभवी नेतालाई उम्मेदवार बनाएको जनाएको छ ।













