कांग्रेस देउवा समूहको रिटमा माघ ६ गते सुनुवाइ, मनोनयन प्रक्रिया रोक्न सर्वोच्चसँग माग

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस देउवा समूहको रिटमा माघ ६ गते सुनुवाइ, मनोनयन प्रक्रिया रोक्न सर्वोच्चसँग माग

काठमाडौ । नेपाली कांग्रेस देउवा समूहले पार्टीसम्बन्धी विवादमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आउँदो मंगलबार माघ ६ गते सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

आइतबार माघ ४ गते सर्वोच्च अदालतमा दायर गरिएको रिट कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट दर्ता गरिएको हो । रिटमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न नदिन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । देउवा समूहले उक्त विशेष महाधिवेशन अवैध रहेको दाबी गरेको छ ।

यसैगरी, नवनिर्वाचित कार्यसमितिलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न नदिन आदेश दिन पनि माग गरिएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते नै उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएकाले सोही दिन सुनुवाइ तोकिएको हो ।

रिटमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वले सिफारिस गरेका उम्मेदवारहरूको मनोनयनपत्र दर्ता नगर्न तथा यदि दर्ता भइसकेको भए त्यसलाई यथास्थितिमा राख्न आदेश दिन माग गरिएको छ ।

रिटको सुनुवाइ र उम्मेदवारको मनोनयन दर्ता एकै दिन परेकाले सर्वोच्च अदालतको आदेशले कांग्रेसको आन्तरिक विवाद मात्र नभई निर्वाचन प्रक्रियामै प्रभाव पार्न सक्ने देखिएको छ ।