राष्ट्रियसभा सदस्य वामदेव गौतम र भगवती न्यौपानेले पनि दिए पदबाट राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रियसभा सदस्य वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको जनाएको छ । यसअघि राष्ट्रियसभाका अर्का सदस्य नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिइसकेका थिए ।
तीनै जना राष्ट्रियसभा सदस्यले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीका साथ पद त्याग गरेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा उनीहरूले राजीनामा दिएका हुन् ।
नारायणकाजी श्रेष्ठ यसअघि २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका थिए । २०७६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठको कार्यकाल आगामी फागुन २० गते सकिन लागेको थियो । ६५ वर्षीय श्रेष्ठले कार्यकाल सकिनु एक महिना अगावै राजीनामा दिएर प्रत्यक्षतर्फ प्रतिनिधिसभा चुनाव लड्ने निर्णय गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । उम्मेदवारी दर्ताभन्दा केही दिनअघि नै राष्ट्रियसभा सदस्यहरूले पदबाट राजीनामा दिएपछि चुनावी गतिविधि थप सक्रिय बनेको छ ।













