नेकपा नेता झलनाथ खनाल फागुन २१ को प्रतिनिधिसभा चुनाव नलड्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नलड्ने भएका छन्।
विगतमा इलाम–२ बाट चुनावी प्रतिस्पर्धा गर्दै आएका खनाल यसपटक कुनै निर्वाचन क्षेत्रमा उम्मेदवार नबन्ने निर्णयमा पुगेका हुन्। खनालले बताएका छन् कि भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले उनको परिवार र सम्पत्ति सबै नष्ट भएको छ।
“परिवारको उपचारमा समस्या भइरहेको छ र अझै कति समय लाग्ने निश्चित छैन। श्रीमतीको उपचारका लागि अस्पताल जानुपर्ने भएकाले निर्वाचनमा खटिन सक्दिनँ,” उनले भने।
खनालले यदि इलाम जान नसके, काठमाडौं–८ बाट चुनाव लड्न सहज हुने बताएका थिए। तर पार्टीले स्थानीय उम्मेदवार उपयुक्त हुने निष्कर्ष निकाल्दै हालैमात्र नेकपा प्रवेश गरेका सुमन सायमीलाई काठमाडौं–८ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।
खनालले २०७९ को निर्वाचनमा इलाम–२ बाट चुनाव लडे पनि पराजित भएका थिए।












